परिचय

संविधानमा उल्लेख भएका कृषि सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै कृषकहरुलाई आवश्यक ज्ञान, सिप, प्रविधिको लागि सहजिकरण र क्षमता अभिवृद्धि मार्फत सशक्तिकरण गर्दै उनीहरुको आवश्यकता अनुसारका कृषि विकासका कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन, खाद्य सुरक्षा र आर्थिक वृद्धि लगायतका राष्ट्रिय लक्ष्यहरु र दिगो विकास लक्ष्य लगायतका विभिन्न अन्तराष्ट्रिय प्रतिवद्धताहरु पूरा गरी कृषिको विकास र जीविकोपार्जनको आधार कायम राख्नका लागि स्थानीय आवश्यकता र राष्ट्रिय प्राथमिकताका बिचमा तादम्यता रहने गरी मुलुकको संघीय संगठनात्मक संरचनामा प्रदेश सरकार मातहत रहने गरी कृषि विकासको मुख्य आधारका रुपमा कृषि ज्ञान केन्द्रहरुको व्यवस्था गरिएको हो । त्यसै अनुरुपको परिवर्तित संघीय शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश सरकार अन्तर्गत रहने गरी मिति २०७७/०९/१७ मा साबिकको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङको जोमसोम स्थित कर्मचारी आवास भवनमा कृषि ज्ञान केन्द्र, मुस्ताङ स्थापना भएको हो। यसको कार्य क्षेत्र मुस्ताङ जिल्ला रहेको छ । स्थानीय समस्यामा आधारित प्रविधी परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण, बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस ज्ञान केन्द्रको रहेको छ ।